गोभ्रतेश्वर महादेव
लुँभुँ/लुभु दक्षिणमा श्रृङ्गमती खोला, पश्चिममा गोदावरी खोला, उत्तरमा ढुङ्गे खोलाले घरिएको छ। लिच्छवीकालमा राजाको नाउाँपछाडि देव राखी सम्मान प्रकट गरिन्थ्यो भने देवभन्दा पनि अलौंकिक ठूलो ईश्वरलाई महादेव भन्न थालिएको हो। लुँभुँमा रहेको गोभ्राटेश्वर महादेव मन्दिर शिखर शैलीमा निमार्ण गरिएको छ। गोभ्राटेश्वर महादेवको सम्बन्ध श्री पशुपतिनाथसँग छ: देवताका रूपमा सादा लामो बाङ्गोढुंङ्गा पुजिदै आएको छ। श्री गोभ्राटेश्वर महादेवको उत्पत्ति कामधेनु गाईलाई मानिन्छ। श्रृङ्गी ऋषिले पालेका कामधेनु गाईको गोबर लिई तपस्या गरि बस्दा सो गोबरबाट महादेव प्रकट भएर शिवलिङ्गको रुपमा रहनु भएकाले यस महादेवलाई गोभ्राटेश्वर महादेव भनिन्छ। श्रृङ्गी ऋषिले बसोबास गरेको भनिएको स्थानलाई श्रृङ्गी गुफा भनिन्छ, जुन लुभुबाट पूर्वमा पर्ने लामाटार गाविसस्थित सिस्नेरी गाउँमा छ। सिस्नेरी श्रृङ्गी शब्दको अपभ्रंश हो। ने.सं. ५६७ कोयलाछी टोलको नारायण मन्दिरमा रहेको शिलालेख अनुसार राजा यक्ष मल्लको पालामा लुभु कोटनायक हृदयराम मुल्मीको नेतृत्वमा एउटा बलियो किल्लाको रूपमा रहेको थियो। ने.सं. ६०८ मा लुभुका बासिन्दालाई गलगाँड आएपछि ज्योतिषलाई देखाउँदा गोभ्राटेश्वर महादेवको शिरमा महालक्ष्मी पिठ रहेकोले हो भनी तान्त्रिकहरूले दिएको चेतावनीलाई मध्यनर राखी सो पिठ हाल तीनतल्ले पेगौडा शैलीको महाभैरव महालक्ष्मी लायकु नजिक सारिएको थियो। गंगा महारानीले आफनो सुनको थाल बेचेर बस्ती बसालेकाले सुनको थालको नामबाट लुँभु रहन गएको किवंदन्ती छ। लुभुमा धान्यपूणिर्माका दिन श्री गोभ्राटेश्वर महादेवको जात्रा निकालिन्छ। गोभ्राटेश्वर महादेवको जात्रा लुभुको सबैभन्दा पुरानो जात्रा हो। नेवार समुदायले आफ्नो मुख्य बाली धान भित्र्याएपछि मनाउने भएकाले यो जात्राको विशेष महत्व छ। महालक्ष्मी नगरपालिका लुभुमा मनाइने गोभ्राटेश्वर महादेवको जात्रा वर्षमा दुई पटक मनाइन्छ। लुभु जात्राको अघिल्लो दिन र योमरी पुन्हीको दिन यो जात्रा मनाइन्छ। बिहान महालक्ष्मी मन्दिरबाट गोभ्राटेश्वर महादेव मन्दिरमा पुर्याएर बेलुका बाजागाजा सहित पुन फिर्ता ल्याइन्छ।